३ चैत्र, काठमाडौं । मुलुकको राजनीति अस्तव्यस्त भैरहेका बेला सर्वोच्च अदालतले बहुदल कालमा भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका एकजना पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेतालाई जेल हाल्ने ऐतिहासिक फैसला गरेको छ । वाग्ले जेल गएपछि अब बहुदल कालमा अकूत सम्पत्ति आर्जन गर्ने विजयकुमार गच्छदार, सुजाता कोइराला, खुमबहादुर खड्का, गोविन्दराज जोशी लगायतका भ्रष्टाचारीहरु पनि तानिने सम्भावना बढेको छ । ७ वर्षअघिदेखि अदालतमा थन्किएको यो मुद्दामा भ्रष्टाचारीलाई कारवाही भएपछि अन्य भ्रष्ट नेताहरुको पनि दिन गन्ती शुरु भएको छ ।
गोरखा जिल्ला बुङकोट घर भई हाल काठमाडौंको चाबहिलमा बस्दै आएका वाग्लेलाई काठमाडौं जिल्ला विशेष अदालतले २ करोड ७२ लाख ५८ हजार ९ सय २७ रुपैया ८१ पैसा बिगो र १ वर्ष कैदको सजाय सुनाएको थियो । सर्वोच्चले यो बिगो रकमलाई केही घटाएर २ करोड ३ लाख ५ हजार ६ सय ४७ रुपैया ७४ पैसा कायम गरेको छ । विशेष अदालतले तोकेको २ वर्ष कैद सजायँलाई पनि केही घटाएर सर्वोच्चले १ वर्ष ६ महिना कैद सजायँ सुनाएको छ ।
०६१ सालमा विशेष अदालतले सुनाएको फैसला चित्त नबुझी सर्वाेच्चमा गएका वाग्लेले अब जेल नगई सुख नपाउने भएका छन् । तर, उनले १ महिना ५ दिन यसअघि नै जेलमा थुनामा कटाइसकेकाले अब १ वर्ष ४ महिना २५ दिनमात्रै थुनामा बस्नुपर्ने भएको छ । वाग्लेको अवैध चल-अचल सम्पत्ति पनि जफत हुने भएको छ । वाग्लेका छोरा देवेन्द्र, श्रीमती, छोरी र अन्य नातेदारलाई भने मतियार ठहर्याउँदै उनीहरुका नाममा रहेको अबैध सम्पत्ति जफत गर्ने तर जेल जानु नपर्ने फैसला सुनाइएको छ ।
सर्बोच्चको फैसला
सर्वोच्च अदालतको बुधबारको फैसलामा भनिएको छ- ‘रु.२,०३,०५,६४७।७४ बराबरको सम्पत्ति चिरञ्जिवी वाग्लेले गैरकानूनी रुपमा आर्जन गरी आफ्ना छोरा देवेन्द्र वाग्लेका नाममा राखी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा -१) अन्तर्गतको कसूर गरेको देखियो । सो देखिनाले स्रोत खुलेको सम्पत्ति बाहेक देवेन्द्र वाग्लेको नाउँको सम्पूर्ण बैंक मौज्दातमध्ये रु.१,९०,०५,६४७।७४, निज देवेन्द्र वाग्लेका नाउँको युनिक एकेडेमिक बोर्डिङ स्कूल, रत्ननगर चितवन तथा ओरल एडभरटाइज एजेन्सीमा रहेको सम्पूर्ण शेयर लगानी र देवेन्द्र वाग्लेकै नाउँमा रहेको सवारी साधन (बा.३ च ५५९१ नं. को मार्टिज गाडी)समेतको चल अचल सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत जफत हुने अवस्था देखिन आयो ।’
त्यसैगरी विशेष अदालतले गरेको फैसलालाई केही संशोधन गर्दै सर्वोच्च अदालतले चिरञ्जीवी वाग्लेका सम्बन्धमा आफ्नो फैसलामा भनेको छ- ‘चिरञ्जिवी वाग्लेलाई विशेष अदालत काठमाडौंबाट ठहर भएको विगोको अंक फरक पर्ने देखिएको स्थितिमा सम्पत्तिको विगोअनुसार दुई वर्षसम्म कैद र जरिवाना गरी आर्जन गरेको गैरकानूनी सम्पत्ति जफत गरिनेछ भन्ने समेत उल्लेख भएको देखिन्छ । यो विश्लेषणवमोजिम केही घट्न जाने भै रु.२,०३,०५,६४७।७४ मात्र विगो कायम हुने देखिएकोले सो विगो जफत भै विगो वमोजिम जरिवाना र सोही विगो तथा जरिवानाको अंकको आधारमा विचार गर्दा कैदको हकमा पनि न्यायोचित रुपले हेरिँदा फरक गरिनु उपयुक्त देखिएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा २ वमोजिम १ वर्ष कैद तथा दफा २४ वमोजिम थप ६ महिनासम्म कैद गर्नु मनासिव हुन आउने भै जम्मा १ वर्ष ६ महिना कैद हुने देखियो ।’
वाग्लेले उक्त जरिवाना बुझाए बाँकी जेथा जमानत फुकुवा गरिदिन र नबुझाए यस अदालतमा पुनरावेदन गर्दा राखेको जेथा जमानत समेतबाट कानूनवमोजिम असूल उपर गर्न जेथा जमानतको विवरण काठमाडौं जिल्ला अदालतमा लगत राख्न सर्वोच्चले भनेको छ ।
अदालतले वाग्लेपुत्र देवेन्द्र वाग्लेका नाउँमा रहेको ८ लाख मूल्यको बा.३ च ५५९१ नं. को मार्टिज गाडी लिलाम बिक्री गर्न भनेको छ । त्यसैगरी देवेन्द्र वाग्लेका नाउँमा रहेको ओरल एड्भरटाइज एजेन्सीको १ लाखको शेयर लगानी, युनिक एकेडेमिक बोर्डिङ स्कूल र रत्ननगर चितवनको ४ लाखको शेयर लगानी पनि जफत गर्न भनेको छ । त्यस्तै वाग्ले पुत्रका नाममा विभिन्न बैंकहरुमा रहेको १ करोड ९१ लाख ८३ हजार १ सय ४८रुपैया ३१ पैसा मौज्दातमध्ये स्रोत नखुलेको रू.१ करोड ९० लाख ५ हजार ६ सय ४७ रुपैया ७४ पैसा चिरञ्जिवी वाग्लेले गैरकानूनी रुपमा आर्जन गरी छोराका नाममा राखेको भन्दै जफत गर्ने विशेष अदालतको फैसलालाई सामान्य संशोधन गरेको छ ।
यस्तो थियो ०६१ को विशेष अदालतको फैसला
प्रतिवादी चिरञ्जिवी वाग्लेका नाउँमा रहेको बैंक मौज्दात रु.६,६६,९११।५२, प्रतिवादी देवेन्द्र वाग्लेका नाउँमा रहेको बैंक मौज्दात रु.१,९१,८३,१४८।३१ मध्येको रु.५,०२,३२०।५०, का.जि.का.म.न.पा. ७ (घ) स्थित कि.नं. ३१७, ४०८, ४४१,४४३,४४२ र ४४४ को शान्ति देवीको नाउँको रु.३,४८,२६९।-का जग्गा र कि.नं ३१७ समेतमा बनेको जम्मा रु.३४,३२,४०३।६९ मूल्यांकित घरहरु, टहरा, ग्यारेज, पालेघर र घरमा रहेको फर्निचर तथा फर्निसिङ, इलेक्ट्रिकल तथा ईलेक्ट्रोनिक सामानहरु, प्रतिवादी अञ्जु शर्मा वाग्लेको नाउँको सिद्धार्थ मल्टीपल इन्स्टिच्युटको रु.१५,०००।- को शेयर, प्रतिवादी चिरञ्जिवी वाग्लेको नाउँको बा.२ च ९२९६ को रु.१६,००,०००।- को प्राडो गाडी र वा.३ च ६३२० नं को देवेन्द्र वाग्ले समेतको संयुक्त नाउँको ५,००,०००।- को सेन्ट्रो गाडी समेतको स्रोत खुलेको रु.७०,६४,९०४।७१ को चल अचल सम्पत्ति बाहेक आरोपपत्रमा दावी लिएको प्रतिवादी अञ्जु शर्मा वाग्ले तथा देवेन्द्र वाग्लेको शेयर लगानी, प्रतिवादी देवेन्द्र वाग्लेको नाउँको वा. ३ च. ५५९१ को मार्टिज गाडी, निजको नाउँको बैंक मौज्दात, निजको नाउँको जग्गाहरु समेत चल अचल सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति समेत भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) तथा ४७ बमोजिम जफत भै प्रतिवादी चिरञ्जिवी वाग्लेलाई भ्रष्टाचार निवरण ऐन, २०५९ को दफा २०(२) बमोजिम विगो अनुसार रु.२,७२,५८,९२७।८१ जरिवाना र १ वर्ष ६ महिना कैद तथा ऐ.ऐनको दफा २४ बमेाजिम १ वर्ष थप कैद समेत जम्मा २ वर्ष ६ महिना कैद हुन्छ ।
विशेष अदालतमा वाग्लेको झुठो बयान
‘मैले गैर कानूनी रुपमा कुनै पनि चल अचल सम्पत्ति आर्जन गरेको छैन, परिवारका सदस्य छोरा वुहारी र श्रीमति समेतका नाममा रहेको सम्पत्ति र छोरा देवेन्द्र वाग्लेको नाममा रहेको नेपाल भिजन टे्रक्स एण्ड एक्सपिडीसन प्रा.लि. समेत को व्यापार व्यवसायवाट आर्जन भएको सम्पत्ति हो, मेरो नाममा अंशवाट पाएको अचल सम्पत्ति वाहेक अरु अचल सम्पत्ति छैन । मैले कानून वमोजिम पारिश्रमिक, भत्ता, वैदेशिक भ्रमणवाट पाएको रकम मेरो नामको ने.वै.लि. र नेपाल इन्भेष्टमेन्ट वैंक दरवार मार्गमा रहेको करीव ६ लाख खातामा राखेको छु । छोरा देवेन्द्रले आर्जन गरेको सम्पत्तिको स्वयं कर घोषणा अन्तर्गत करिव ३ करोड ६० लाख जतिको सम्पत्तिको दश प्रतिशतले हुने कर रकम वुझाएकोले सवै सम्पत्ति देवेन्द्रको आर्जनको सम्पत्ति तथा उसको आमाको नाममा राखेको अचल सम्पत्ति र मेरो नाममा रहेको गाडी समेत देवेन्द्रको व्यापारको अन्य आर्जनवाट जोडिएको सम्पत्ति हो,’
देवेन्द्र वाग्लेको कुतर्क
‘मेरो व्यावसायिक कारोवारमा पिताको संलग्नता कुनै लिखित प्रमाण वा अन्य कहिँ कतैबाट नदेखिने अवस्थामा मेरो व्यवसायिक कारोवारको विषयमा नाफा नोक्सानमा शत प्रतिशत जिम्मेवारी मेरो मात्र छ ।’
अञ्जु शर्मा वाग्लेको भनाइ
‘मेरो पति देवेन्द्र वाग्ले २०५० साल देखि व्यापार व्यवसाय गर्नु हुन्छ । उहाँले कानून वमोजिम कर तिरी व्यापार व्यवसाय गरी कमाएको सम्पत्ति वाट मेरो नाममा शेयर खरिद गर्नु भएको हो, चिरञ्जिवी वाग्लेले शेयर लगानी गरेको कुरा गलत हो । अभियोग दावी गलत भएकोले मागदावी वमोजिम मेरो नाममा भएको सम्पत्ति जफत हुनुपर्ने होइन ।’
प्रतिवादी शान्तादेवी वाग्ले
‘मेरो नाउँमा रहेको कि.नं. ३१७ को सात आना जग्गा २०५० सालमा हरिबहादुर थापावाट वकस पाएकी हुँ । अन्य सम्पूर्ण जग्गा खरिद गर्ने र घर वनाउंदा खर्च भएको रकम छोरा देवेन्द्र वाग्लेले आफ्नो व्यापार व्यवसायवाट कमाएको सम्पत्तिबाट नै दिएको हो ।’
वाग्लेले सम्हालेका मन्त्रालय
१. आपूर्ति मन्त्रालय – २०४८।२।१५ देखि २०४८।९।१५ सम्म
२. सूचना तथा सञ्चार – २०५२।६।६ देखि २०५३।११।२९ सम्म
३. भूमिसुधार तथा व्यवस्था र वाणिज्य – २०५५।१।८ देखि २०५५।५।१० सम्म
४. भूमिसुधार तथा व्यवस्था – २०५५।५।१० देखि २०५५।९।१० सम्म
५. भूमि सुधार तथा व्यवस्था र वाणिज्य – २०५६।२।१७ देखि २०५६।३।१६ सम्म
६. स्थानीय विकास, महिला तथा समाज कल्याण – २०५६।३।१६ देखि २०५६।१२।८ सम्म
७. भौतिक योजना तथा निर्माण – २०५८।७।२ देखि २०५९।६।१८ सम्म
क. वाग्लेको स्रोत खुलेको सम्पत्ति विवरण
१. चिरञ्जिवी वाग्लेको नाममा रहेको बैंक मौज्दात रु. ६,६६,९११।५२
२. शान्तादेवी वाग्लेका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित घरभित्रका फर्निचर, विद्युतीय उपकरण र आन्तरिक सजावटका सामग्रीहरु समेत रु. ७,२७,११२।००
३. अञ्जु शर्मा वाग्लेका नाममा सिद्धार्थ मल्टिपल इन्स्टिच्यूटमा रहेको शेयर लगानी रु. १५,०००।००
४. शान्तादेवी वाग्ले र देवेन्द्र वाग्लेका नाममा रहेको जग्गा जमिन रु. ६७,८२,८६९।००
५. शान्तादेवी वाग्लेका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नं. ७ स्थित घर रु. २७,०५,२९१।६९
६. देवेन्द्र वाग्लेको नाममा रहेको जम्मा बैंक मौज्दात रु.१,९१,८३,१४८।३१ मध्ये रु. १,७७,५००।५७
७. अञ्जु शर्मा वाग्लेका नाममा रहेको शेयर लगानी रु. ८,४३,५००।००
८. चिरञ्जिवी वाग्लेका नाममा रहेको बा.२ च ९२९६ नं. को प्राडो गाडी रु. १६,००,०००।००
९. देवेन्द्र वाग्ले समेतको संयुक्त नाममा रहेको बा.३ च ६३२० नं. को स्यान्ट्रो गाडी (देवेन्द्र वाग्लेको हिस्सा मात्र) रु. ५,००,०००।००
स्रोत खुलेको जम्मा सम्पत्ति रु.१,४०,१८,१८४।७८
ख. स्रोत नखुलेको सम्पत्ति
१.देवेन्द्र वाग्लेको नाममा रहेको बैंक मौज्दात रु. १,९१,८३,१४८।३१ मध्ये स्रोत खुलेको रु.१,७७,५००।५७ कट्टा गरी बाँकी हुन आउने बैंक मौज्दात रु.१,९०,०५,६४७।७४
२. देवेन्द्र वाग्लेका नाममा रहेको शेयर लगानी (युनिक एकेडेमिक बोर्डिङ स्कूल, रत्ननगर चितवनमा रु. ४,००,०००।०० र ओरल एडभरटाइज एजेन्सीमा रु.१,००,०००।०० समेत) रु. ५,००,०००।००
३. देवेन्द्र वाग्लेका नाउँमा रहेको बा.३ च ५५९१ नं. को मार्टिज गाडी रु. ८,००,०००।००
स्रोत नखुलेको जम्मा सम्पत्ति रु.२,०३,०५,६४७।७४
ग. स्रोत खुलेको र नखुलेको जम्मा सम्पत्ति
१. जग्गा जमिन रु. ६७,८२,८६९।००
२. घर, ग्यारेज, पालेघर समेत रु. २७,०५,२९१।६९
३. फर्निचर, विद्युतीय उपकरण र आन्तरिक सजावटका सामग्री समेत रु. ७,२७,११२।००
४. सवारी साधन रु. २९,००,०००।००
५. बैंक मौज्दात रु. १,९८,५०,०५९।८३
६. शेयर लगानी रु. १३,५८,५००।००
जम्मा रु. ३,४३,२३,८३२।५२
सर्वोच्चद्वारा देवेन्द्र वाग्लेबाट जफत गर्ने निर्णय गरिएको बैंक ब्यालेन्स
१. नेपाल ईन्भेष्टमेन्ट बैंकमा रहेको बैंक व्यालेन्स रु.२०,३३,७६४।३१ मध्ये स्रोत खुलेको रु.१,७७,५००।५७ बाहेकको बाँकी बैंक व्यालेन्स रु. १८,५६,२६३।७४
२. स्टाण्डर्ड चार्टर्ड बैंक, कान्तिपथमा रहेको बैंक व्यालेन्स रु. … ५७,१२,३८५।००
३. हिमालयन बैंक, त्रिदेवी मार्गमा रहेको बैक व्यालेन्स रु. ……. ३३,०२,८७२।००
४. बैंक अफ काठमाडौंमा रहेको बैंक व्यालेन्स रु. ……………. ४१,३४,००६।००
५. नविल बैकमा रहेको बैंक व्यालेन्स रु. ……………………… ४०,००,१२१।००
No comments:
Post a Comment