‘लडाकु समायोजन तालिका पाँचदिन भित्र'
प्रधानमन्त्री नेतृत्वको विशेष समितिले बनाउने तालिकाको शीर्ष बैठकले टुंगो लग्याउने छ
प्रमुख तीन दलले माओवादी लडाकुहरुको समायोजन र पुनस्थापन गर्ने कार्यतालिका पाँच दिनभित्र तयार गरी शान्ति प्रकृया तीव्र बनाउने निधो गरेका छन्।
लामो अन्तरालपछि भएको तीन दलीय शीर्ष बैठकले कार्यतालिका बनाउन प्रधानमन्त्रीको अध्यक्षतामा रहेको विशेष समितिलाई निर्देशन दिएको छ।
सत्ता संघर्षमा महिनौं खेर फालेपछि सत्ताधारी एकीकृत नेकपा माओवादी र नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुले एउटै टेबुलमा बसी शान्ति प्रकृयामा केन्द्रित भई छलफल गरेका थिए।
महत्वपूर्ण
समायोजन र पुनर्स्थापनमा जाने माओवादी लडाकुलाई अलग्याउने काम डेढदेखि दुई महिनाभित्र सकिन्छ भन्ने छ
प्रदीप ज्ञवाली, नेता, नेकपा एमाले
बैठकले म्याद तोकेरै माओवादी लडाकुहरुको भविष्य निर्धारण गर्ने उक्त महत्वपूर्ण जिम्मेवारी विशेष समितिलाई दिएको हो।
बैठकको सहमति सुनाउँदै एमाले नेता प्रदीप ज्ञवालीले भने, “समायोजन र पुनस्थापन गर्ने कार्यतालीका पाँच दिनभित्र तयार गर्ने निर्देशन दिइएको छ।”
विशेष समितिले कार्यतालिका बनाएपछि त्यसको अन्तिम टुंगो शीर्ष नेतृत्वले लगाउने छ।
शीर्ष नेताहरुबीच शान्ति प्रकृयालाई प्राथमिकताका साथ अगाडि बढाउने सहमति पनि भएको नेता ज्ञवालीको भनाइ थियो।
संविधान जारी गर्ने समय साढे दुई माहिना मात्र बाँकी रहेका बेला लडाकु समायोजन सक्न नेताहरुले लिएको प्रारम्भिक लक्ष्यबारे जानकारी दिंदै उनले भने, “समायोजन र पुनर्स्थापनमा जाने माओवादी लडाकुलाई अलग्याउने काम डेढदेखि दुई महिनाभित्र सकिन्छ भन्ने छ।”
कार्यदललाई समायोजनको समय तालिका बनाउन त्यति गाह्रो नभए पनि समायोजनको ढाँचा र मापदण्ड के हुने भन्ने विषय जटिल हुने ठानिएको छ।
दलहरुबीच त्यस विषयमा रहेको मुख्य विवाद नसुल्झिएमा समायोजन कार्यतालिका बन्यो भने पनि त्यो लागू हुनेमा आशंका जीवितै छ।
No comments:
Post a Comment